झापा / नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पत्ति गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ ।

OM Sai Pathibhara Hospital

कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि सांसारिक दुःख कष्ट तथा पीडामा शीतलता प्रदान गर्ने देवीको रुपमा पूजा गरिन्छ । कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकको रुप मानेर नवरात्रको चौथो दिन यसको पूजाआजा गर्ने चलन रहेको छ ।

शक्तिपीठ तथा देवी मन्दिरहरूमा आज कुभिन्डोको विधिपूर्वक पूजा गरी त्यसैको बली समेत चढाउने गरिन्छ ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।