बिर्तामोड / झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए । “यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो”, उनले भने “पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।”

सङ्क्रमित मध्ये पुरुष ४५ जना र महिला ३४ जना रहेका छन् । हल्दीबारीमा सबैभन्दा धेरै १६ जना सङ्क्रमित फेला परेका छन् । यस्तै मेचीनगरमा १०, बुद्धशान्तिमा ७ , अर्जुनधारामा १ , कनकाईमा ८ , कमलमा ६ , दमकमा ७ , गौरादहमा १ , झापामा ३ , बिर्तामोडमा १४, भद्रपुरमा ४ र कचनकवलमा २ जनामा डेङ्गु सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

जिल्लाका १५ वटै पालिकालाई ३०/३० थान कीट वितरण गरिएको फोकल पर्सन दासले बताए । आवश्यकता अनुसार पालिकाले आफैँ कीट किन्ने व्यवस्था भएकाले पालिकाले आफैँ खरिद गर्ने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत यही असोज १०/१२ गते कीट आउने जानकारी आएको र आएपछि थप कीट वितरण गरिने कार्यालयले जनाएको छ ।