झापा / प्रदेश १ मन्त्रिपरिषद्को बिहीबारको बैठकले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरोन्नति गरी २ सय शय्याको बनाउने निर्णय गरेको छ  ।

प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रस्तावका आधारमा यस अस्पतालको स्तरोन्नतिको गर्ने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

यस्तै बैठकमा भोजपुर जिल्ला अस्पतालको पनि स्तरोन्नति गरी ५० बेडको बनाउने निर्णय भएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत नेपाल सरकारको मिति २०७९ असोज ५ गतेको निर्णय प्रचलित कानूनसमेतको दायराभित्र रही कार्यान्वयन गर्न प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

उक्त निर्णयअनुसार धनकुटाको भेडेटारमा बन्न लागेको स्वाइवाकका लागि आवश्यक जग्गा सट्टापट्टा गर्ने जिम्मेवारी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई हुनेछ । बैठकले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी व्यवस्था गर्न विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयद्वारा प्रस्तुत प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी व्यवस्था गर्न विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा प्रस्तुत प्रदेश नं. १ अन्तर्गतका १४ जिल्लाको प्रमुख उत्पादनको ब्रान्डिङ गर्ने र प्रदेश नं. १ को पर्यटन लोगो स्वीकृत गर्नेसहित पर्यटकीय गन्तव्य स्थल तोक्ने विषयलाई मन्त्रीस्तरीय समितिको छलफलमा लैजाने निर्णय बैठकले गरेको सञ्चार मन्त्री घिमिरेले जानकारी दिए ।