झापा / आज भाद्र महिनाको आमावश्या (औंसी) अर्थात कुशे औंसी । वैदिक सनातन धर्मावलम्बीले आज वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। 

शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरू द्वारा पूजा गरी छेदन गरेर जजमानहरू कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

OM Sai Pathibhara Hospital

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ। 

त्यस्तै भाद्र कृष्ण कुशे औँसीमा बाबुको मुख पनि हेरिन्छ । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ ।

आमा पछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको छ । अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ।