बिर्तामोड / आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । 

तिथिको हिसाबले द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर आजको दिनमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म जयन्ती मनाउने गरिन्छ । आजको कृष्ण चरित्र, सुन्ने, हेर्ने र श्रीकृष्ण लीलाहरुको अध्ययन गर्दा सकारात्मक सोच प्राप्त हुने धार्मिक मान्यता छ । 

OM Sai Pathibhara Hospital

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको अनुमान छ ।

आज देशभरका कृष्ण मन्दिरमा मेला लाग्ने गर्छ । आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण अष्टमीले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् । 

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिएका छन् । उनले सन्देश निकालेर यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका हुन् ।