बिर्तामोड / सौरमास अनुसार आज साउन महिनाको अन्तिम सोमबार भएकाले देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनको भीड लागेको छ 

त्यस्तै पूर्वको पशुपतिनाथका नामले चिनिएको झापाको शनिश्चरेस्थित अर्जुनधारा जलेश्वर धाममा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । 

OM Sai Pathibhara Hospital

साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिन भगवान शिवको पुजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास भएका कारण पनि भगवान शिव प्रति आस्था र विश्वास राखेर मन्दिरमा जल चढाउन आउने भक्तजनको भीड लागेको हो । 

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । जस कारण साउनको सोमबार व्रत बस्ने र शिवको आराधना गर्ने गरिन्छ । यस पटक साउनमा पाँचवटा सोमबार परेको थियो । यस वर्षको साउनको आज अन्तिम सोमबार हो । 

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पुजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् । अर्जुनधारा जलेश्वर धामको दर्शन गर्न देश तथा विदेश देखि समेत आउने गरेको धाम समितिले जनाएको छ । 

दर्शनका लागि बिहानै देखि हजारौँ भक्तजनहरू शनिश्चरे चोकदेखि लाममा बसेका छन् । भक्तजनका लागि सहज रुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।

शनिश्चरे चोकदेखि नै खाली गोडा, पहेँलो एवं हरि वस्त्र पहिरिएका भक्तजन लाम लागेर आएको दृश्य देखिन्छ । उच्च स्वरमा बोल बम शब्द गुञ्जायमान गराउँदै भक्तजन अर्जुनधारा मन्दिरतिर आइरहेका छन् ।