काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दु धर्मावलम्बीहरूको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा ( ऋषितर्पणी ) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीहरूबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
यसैगरी वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवारी समुदाय रहेका विभिन्न ठाउँमा मनाउने गरिन्छ ।