झापा  / आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजन प्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

हिन्दुहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्। 

OM Sai Pathibhara Hospital

आजको दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ । त्यस्तै विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्र शास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।

विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो। त्रेता युगमा मर्यादा पुरूषोत्तम रामसहित उनका भाइ र द्वापरमा भगवान् श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेका शास्त्रमा उल्लेख छ। 

पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए। गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन रहिआएको छ। 

अन्धकारको नास गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुप समेतमा मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मान्ने गरिन्छ ।