पोखरा / केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका –४ मा सडकसहित एक घर भासिएको छ ।
वडाध्यक्ष देवकृष्ण पराजुलीका अनुसार फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको हो ।
वडाध्यक्ष पराजुलीले भने ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ ।’
त्यस्तै वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा पोखरा–सिक्लेस सडक ३ दिनदेखि अवरुद्ध भएको छ । गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरो गएकाले तत्काल सडक सञ्जाल सञ्चालनमा आउने सम्भावना कम छ ।
मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले पोखरा–सिक्लेसका ठाउँठाउँमा ५ भन्दा बढी ठाउँमा पहिरो गएको जानकारी दिए ।
उनका अनुसार, मादी वडा नम्बर ७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवै भागमा पहिरोले बाटो पूर्ण रुपमा क्षति पुर्याएको छ ।