काठमाडौं / एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जातीय भेदभाव गरी विद्यार्थी भर्ना नलिने ललितपुरको शंखमुलस्थित जगद्गुरू आदर्श संस्कृत गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको छ ।
गुरुकुलले बर्दियाबाट आई भर्ना हुन कपाल मुण्डनसमेत गरिसकेको अवस्थामा जातीय भेदभाव गरी भर्ना नलिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियुले गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको हो ।

२५ जेठमा आश्रमको पूर्व स्वीकृति अनुसार व्रतबन्ध गरी कपाल मुण्डन गरी भर्ना हुन पुगेका बर्दियाको बारबर्दिया नगरपालिका –६ का १० वर्षे समीर सुनार, १२ वर्षे विराज सुनार, ५ वर्षे भुवेश्वर सुनार र १० वर्षे भीमबहादुर सुनारलाई दलित भएको भन्दै उक्त गुरुकुलका प्राचार्यले भर्ना गर्न अस्वीकार गरेका थिए ।
‘५० जनाको सिट क्षमता भएको गुरुकुलमा ३३ जना मात्रै विद्यार्थी भर्ना हुँदा पनि सीट संख्या पूरा भएको झुटो दाबी गर्ने प्राचार्यलाई कारबाहीको दायरामा ल्याउन प्रशासन समक्ष जोडदार माग गर्दछौं’ अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।