काठमाडाैँ / गृहमन्त्री बालकृष्ण खाणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ।

सङ्गठनका सचिव हलिम साहका अनुसार सङ्गठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले आज मन्त्री खाणलाई भेटेर हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । 

OM Sai Pathibhara Hospital

सरकारले २०७६ सालमा साउदी अरबको मक्का मदिनामा हज गर्न जाने हजयात्रीका लागि दुई लाख २५ हजार रूपैयाँ शुल्क तोकेको थियो । 

तर, गत १५ जेठबाट सरकारले हजयात्रीका लागि विगतभन्दा दोब्बर शुल्क तोकेको छ। हाल हजयात्रिका लागि प्रतिव्यक्ति चार लाख ६६ हजार ३९२ रूपैयाँ तोकिएको छ ।   

सङ्गठनका सचिव साहले मुस्लिम समुदायको आर्थिक अवस्था कमजोर हुँदा अहिले तोकिएको शुल्क तिरेर जाने अवस्था नरहेको हुँदा शुल्क घटाउन माग गरिएको बताए। 

विगतका वर्षमा झैँ यसपटक पनि हज गर्ने जाने यात्रीलाई आर्थिक अनुदान दिनुपर्ने, हजयात्रीलाई पैसा जम्मा गर्ने समयावधि जेठ ३० गतेसम्म राख्नुपर्ने, आर्थिक वर्ष २०७६र७७ मा हज गर्न जान भनी फारम भरी रकम जम्मा गरेका हजयात्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।