काठमाडौँ / अमेरिकाको कनेक्टिकट राज्यस्थित येल विश्वविद्यालयको आर्ट ग्यालरीमा रहेको पार्वती (तारा)को मूर्ति नेपाल फर्काइने भएको छ । 

भक्तपुरको एक प्राचीन मन्दिरबाट झन्डै ४५ वर्षअघि चोरिएको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबीच सहमति भएको हो ।

OM Sai Pathibhara Hospital

न्युयोर्कस्थित कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमका अनुसार, गत वर्ष असारमा उक्त मूर्तिको अवस्थितिका बारेमा जानकारी आए पनि आवश्यक तथ्य पहिचान र प्रमाणीकरण पछि घर फर्काउन विश्वविद्यालय तयार भएको हो । 

अंशुवर्माकालीन सम्पदा मानिने पार्वतीको मूर्तिलाई विश्वविद्यालयको वेबसाइटमा ‘बुद्धिस्ट गडेस तारा’ भनेर उल्लेख गरिएको थियो ।

भक्तपुरको गोलमढी स्थित वीरभद्रेश्वर महादेव मन्दिरमा उक्त मूर्ति २०३३ सालसम्म रहेको थियो ।

त्यही वर्ष यो मूर्ति लन्डनको एक निजी कला संग्रहकर्ता कहाँ फेला परेको र त्यहाँबाट लिलामी र बिक्रीको अनेक चरणमा सन् २०१५ मा येल विश्वविद्यालयमा पुगेको पाइएको छ ।