झापा / आज वैशाख कृष्ण पक्ष औंशी अर्थात आमाको मुख हेर्न पर्व मनाइँदैछ ।

हरेक वर्ष वैशाखकृष्ण पक्ष औंशीका दिन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आमाको मुख हेर्ने पर्व मनाइन्छ ।

OM Sai Pathibhara Hospital

जन्मदाता आमालाई सम्मान गरी मनाइने यो पर्व देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने गरिन्छ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।  

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
    
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण छिर्नैपर्छ उल्लेख छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख छ । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाइन्छ ।

तर, अधिकांश युवायुवतीहरू आज ‘ह्याप्पी मदर्स डे’ भन्दै सामाजिक सञ्जालमा आमाको तस्बिर पोस्ट गरिरहेका छन् । यद्यपि आज ‘मदर्स डे’ होइन, मातातीर्थ औँशी हो । आमाको मुख हेर्ने दिन हो । 

विश्वले आमा दिवस मनाउनु ८ दिन अघि नै नेपालीले मातातीर्थ औँशी मनाउने गरेका छन् । मातातीर्थ औंशी नै नेपालीको मौलिक आमा दिवस हो ।