इलाम / नेकपा (एमाले) इलाम नगर कमिटी र वडाका २२ जनाले पदबाट राजीनामा दिएका छन् ।  

जनाधार नभएका व्यक्तिलाई पार्टीले इलाम नगरपालिकाको मेयरको उम्मेदवार बनाउन लागेको भन्दै उनीहरूले राजिनामा दिएका हुन् ।  

OM Sai Pathibhara Hospital

अमुक व्यक्तिलाई उम्मेदवारका रूपमा छनोट गर्न खोजिएको भन्दै आक्रोशित उनीहरूले पार्टीको जिल्ला कार्यालयमा गएराति तालाबन्दी समेत गरेका छन् । नगर कमिटीले मेयर उम्मेदवारका लागि धीरेन चेम्जोङ, कृष्ण श्रेष्ठ, नरेन्द्रनाथ भट्टराई र श्यामकृष्ण घिमिरेको नाम सिफारिस गरेको थियो ।  

तीमध्ये भट्टराईको नाम उम्मेदवारका लागि छनोट भएको खबर नगर कमिटीमा आएपछि कमिटी अध्यक्ष तिलक ठकुरी, उपाध्यक्ष दीपेन्द्र चापागाईँ, सचिव ठाकुर नारायण श्रेष्ठ, उपसचिवद्वय चित्रमाया गुरुङ र नारद लम्साल लगायत सचिवालय सदस्य, नगर सदस्य, केही वडाका अध्यक्ष र पदाधिकारी सहितले राजीनामा दिएका हुन् । 

उपमेयरको उम्मेदवारमा छानिएकी चित्रमाया गुरुङले समेत छुट्टै विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई मेयरको उम्मेदवार बनाए आफू उपमेयरको उम्मेदवार नबन्ने बताउँदै आएकी छिन् ।