बिर्तामोड / नेपाल महिला संघ मोरङले ३३ प्रतिशत महिला उम्मेद्वार सुनिश्चित गर्न माग गर्दै  विराटनगरमा प्रदर्शन गरेको छ । 

आइतबार बिहान विराटनगर स्थित नेपाली काँग्रेस प्रदेश १ को कार्यालय परिसरमा महिला संघले महिला सहभागिताका लागि प्रदर्शन गरेको हो ।

OM Sai Pathibhara Hospital

महिला संघले स्थानीय तह निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै नाराबाजी गरेका छन् । उनीहरूले संविधानले नै दिएको ३३ प्रतिशत अधिकारलाई पार्टी नेतृत्वले स्वीकार नगरेका कारण आफूहरू पीडित हुँदै आएको बताएका छन् । 

स्थानीय तह चुनावमा पार्टीले महिलाहरूलाई उपेक्षा गरे सामूहिक राजीनामा दिने समेत चेतावनी दिएका छन् । नेपाल महिला संघ मोरङले स्थानीय तह निर्वाचनको उम्मेदवारमा एक जना महिला अनिवार्य हुनुपर्ने उनीहरूले जनाएका छन् ।

गठबन्धनका नाममा महिलालाई उपेक्षा गरेको भन्दै प्रदेश १ कार्य समिति र पार्टी केन्द्रीय समितिको समेतलाई ध्यान आकर्षण गराएको बताएका छन् । काँग्रेस प्रदेश १ का सभापति उद्धव थापाले संयुक्त राजीनामा दिने अवस्था आउन नदिने भन्दै प्रदेशमा महिलाको प्रतिनिधित्व सुनिश्चित गराउने आश्वासन समेत दिएका छन् ।

प्रमुख एक पार्टीले पाउँदा उपप्रमुख अर्को पार्टीलाई दिएकोले दुवै पार्टीबाट पुरुष सिफारिस हुँदा महिला प्रतिनिधित्व न्यून देखिएपछि उनीहरूले प्रदर्शन सुरु गरेका हुन् ।