बिर्तामोड / देशैभरी एमालेलाई पराजित गर्न सत्तागठबन्धन दलहरू एक जुट भइरहेको समयमा झापाको एक पालिकामा भने राप्रपालाई हराउन कांग्रेस र एमालेबीच गठबन्धन भएको छ । 

आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै राप्रपाको प्रभाव क्षेत्र रहेको कचनकवल गाउँपालिकामा सत्तागठबन्धनको प्रमुख घटक दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच चुनावी गठबन्धन भएको हो । 

OM Sai Pathibhara Hospital

गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिनेगरी गठबन्धन बनेको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिए । 

कार्कीका अनुसार अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्ने भएका छन् । गाउँपालिकाका ७ वटा वडामा वडा अध्यक्ष र सदस्य मिलाउने प्रयास भइरहेको अध्यक्ष कार्कीले बताए । 

राजवंशी २०७४ को स्थानीय तहको निर्वाचनमा राप्रपाका अन्जरा आलमसँग ४६३ मतले पराजित भएका थिए । आलमले ५८१६ मत ल्याएर पालिकाको अध्यक्षमा विजयी हुँदा राजवंशीले ५३५३ मत ल्याएका थिए ।

कचनकवलमा राप्रपाको वर्चस्व तोड्न कांग्रेस र एमालेले गठबन्धन गरेका हुन् । राप्रपाका तर्फबाट कचनकवलमा बहालवाला अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी उठ्ने भएका छन् ।