काठमाडौँ / स्थानीय सरकारको निर्वाचन नजिकिएसँगै गठबन्धन दलहरूले नेतृत्व टुंगो लगाउन नसकेको समयमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाइसकेको छ । गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्वार टुंगो लगाउन नसके पनि माओवादी केन्द्रले भने आफ्नो भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाउन सफल भएको हो । 

माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको छ । जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital

यसअघि जितपुर सिमराबाट मेयरका उम्मेदवार रहेका पौडेललाई पुन: मेयरका लागि सिफारिस गरिएको हो भने घोराहीमा मेयरका अर्का आकांक्षी रहेका जीवन गौतमले पार्टी परित्याग गरेपछि शर्मा स्वत सिफारिस भएका हुन् ।

माओवादीको निर्णयअनुसार महानगर र उपमहानगरको मेयर र उपमेयरको निर्णय केन्द्रीय कार्यालयले गर्नेछ भने भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेनु दाहाल स्वत: मेयरका दाबेदार रहने छन् ।