भरतपुर / फरक विचार धारा र सिद्धान्तलाई आत्मसाथ गर्दै आएका पार्टी नेकपा एमाले र हिन्दु राष्ट्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने भएका छन् । 

मुलुकमा नयाँ व्यवस्था ल्याउन महत्वपूर्ण भूमिका खेलेको नेकपा एमाले चुनावी स्वार्थका लागि प्रजातन्त्रको विरोध गर्दै आएको पार्टी राप्रपासँग चितवनमा चुनावी तालमेल गर्ने भएको हो । 

OM Sai Pathibhara Hospital

आसन्न निर्वाचनमा (राप्रपा) चितवनले नेकपा एमालेसँग गठबन्धन गर्न बाटो खुला गरे पनि आधिकारिक निर्णय भने गरिनसकेको राप्रपा चितवनका प्रचारप्रसार विभाग प्रमुख जीवलाल पुरीले जानकारी दिए । 

पुरीले भने, ‘‘नेकपा एमालेसँग मिलेर निर्वाचनमा जाने भन्ने विषयमा सहमति भइसकेको छ । वैशाख १६ गतेसम्म उमेदवारीमा फिर्ताको समय भएकोले दुई दलबीचको केही आन्तरिक छलफल थाँती राखेका छौँ ।’

केन्द्रले जिल्लाको अवस्था र आवश्यकता हेरेर गठबन्धन गर्न सक्ने भनेर बाटो खुला गरिदिएको हुँदा चितवनमा एमालेसँग गठबन्धन गरेर अगाडि बढ्ने निर्णय भएको उनको भनाइ छ ।

नेकपा एमालेले पनि दुई दलबीच मिलेर जाने विषयमा सकारात्मक ढंगले अघि बढेको बताएको छ ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार दुई दलबीच हुनुपर्ने केही सहमति र तालमेलका कुरा बाँकी रहेकाले आधिकारिक रूपमै मिलेरै जाने भन्ने निर्णयमा भने पुगिसकेको छैन ।