बिर्तामोड / २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रदेश १ का कुल १ सय ३७ स्थानीय तहमध्ये १९ वटा पालिकामा एक सय मतान्तरले हारजित भएको थियो । 

नेकपा एमालेले ११, कांग्रेस र माओवादी केन्द्रले ४–४ वटा स्थानीय तहमा सयभन्दा कम मतान्तरले चुनाव जितेका हुन् । 

OM Sai Pathibhara Hospital

एमालेले झापाको कमल, भोजपुरको राप्रसाद राई, सोलुखुम्बुको सभापोखरी, नोचासल्यान र खुम्बु पासगलामु, उदयपुरको ताप्ली, ताप्लेजुङको मेवाखोला, ओखलढुङ्गाको मोलुङ र लिखु, मोरङको ग्रामथान र उदयपुरको त्रियुगा गाउँपालिकामा एक सयभन्दा कम मतअन्तरले जितेको थियो ।

झापाको कमल गाउँपालिकामा दुई उम्मेदवारको समान मत आएपछि गोला प्रथाबाट प्रमुख छानिएको थियो । नेकपा एमालेकी मेनुका काफ्ले र नेपाली कांग्रेसका हुकुमसिंह राईले बराबर ८ हजार २७५ मत ल्याएका थिए । तर गोलाप्रथामा काफ्ले निर्वाचित भएकी थिइन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा पनि एमालेले ८ मतान्तरले अध्यक्ष जितेको थियो । एमालेका विजय राई २ हजार ३५६ मतका साथ गाउँपालिका प्रमुख बन्दा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थामबहादुर राईले २ हजार ३४८ मत पाएका थिए ।

त्यसैगरी नेपाली कांग्रेसले संखुवासभाको पाँचखपन नगरपालिका, भोजपुरको साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सयभन्दा कम भोट अन्तरले जितेको थियो ।

सङ्खुवासभाको पाँचखपन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विपिन राई ७९ मतअन्तरले विजयी भएका थिए । उनी एमालेका मानसिंह पोखरेलाई हराउँदै मेयरमा विजयी भएका थिए । मेयर विपिनले ३ हजार ४०९ मत प्राप्त गरेका थिए भने एमालेका पोखरेलले ३ हजार ३३० मत प्राप्त गरेका थिए ।

माओवादी केन्द्रले ओखलढुंगाको चिसखुंगढी गाउँपालिका, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका, खोटाङको साकेला गाउँपालिका र उदयपुरको सुनकोशी गाउँपालिकामा सयभन्दा कम भोट अन्तरले जितेको थियो ।

प्रदेश १ का १ सय ३७ स्थानीय तहमध्ये २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ६९, नेपाली काँग्रेसले ५४ (फोरम लोकतान्त्रिकबाट जितेका ३ सहित), माओवादी केन्द्रले ९, राप्रपाले ३ र जसपाले २ पालिकामा जित हासिल गरेका थिए ।

सत्तारुढ पाँच दलीय गठबन्धन कायम भएर गएको अवस्थामा एमालेले जितेका ३५ भन्दा धेरै स्थानीय तहमा गठबन्धन घटकको बर्चस्व हुने देखिन्छ । एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीका कारण पनि एमालेको मतमा क्षति पुगेको छ ।