झापा / लिम्बुवान पहिचानसहितको पार्टी संघीय लोकतान्त्रिक मञ्चले आसन्न स्थानीय तहको निर्वाचनमा प्रदेश १ का ८ जिल्लामा ५१ वडा जित्ने दाबी गरेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा १ वडाध्यक्ष र ५ जना वडा सदस्य मात्र जितेको संघीय लोकतान्त्रिकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन दलसँग चुनावी तामेल गरेसँगै यस्तो दाबी गरेको हो ।

OM Sai Pathibhara Hospital

अघिल्लो स्थानीय तह निर्वाचनमा इलामको चुलाचुली –१ मा वडाध्यक्षसहित ५ जना विजयी भएका थिए भने ताप्लेजुङको सिरिजंगा गाउँपालिका –६ को एउटा वडा सदस्यमा पनि सोही पार्टीका उम्मेदवार विजयी भएका थिए ।

प्रदेशसभा निर्वाचनमा सो पार्टीबाट विष्णुमाया तुम्बाहाम्फेले २६ हजार १२३ मत ल्याएर समानुपातिक तर्फबाट विजयी भएकी थिइन् । तुम्बाहाम्फे हाल प्रदेश १ मा सामाजिक विकास राज्यमन्त्रीका रुपमा बहाल छिन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा ४०८ उम्मेदवार मात्र खडा गरेको संघीय लोकतान्त्रिक मञ्चले आसन्न स्थानीय निर्वाचनमा प्रदेश १ का सबै पालिकामा उम्मेदवारी दिने गरी तयारीमा जुटेको प्रदेशकी राज्यमन्त्री तुम्बाहाम्फेले जानकारी दिइन् ।

तुम्बाहाम्फेले आफ्नो पार्टीले ताप्लेजुङमा ६ वटा वडा, पाँचथरमा १४ वडा, इलाममा ३ वडा, झापामा १० वडा, मोरङमा ९ वटा, सुनसरीमा ४ वडा, धनकुटामा ३ वडा र तेह्रथुममा २ वटा वडामा विजयी हुने बताइन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले किरात खम्बुवान, तामसालिङ, शेर्पा, नेवा, मगरात, तमुवान, खसान, थरूहट, मधेस र शिल्पी (दलित) प्रान्तको माग गर्दै आएको छ ।