बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न स्थानीय तह निर्वाचनमा जित हासिल गरे हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्यनतम करको व्यवस्था गर्ने घोषणा गरेको छ । 

बुधबार स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले स्थानीय तहले जथाभावी कर असुलेको गुनासो आइरहेको भन्दै ५० प्रतिशतसम्म करको दर घटाउने घोषणा गरेको हो ।

OM Sai Pathibhara Hospital

राप्रपाको घोषणा पत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था युवा तथा खेलकुदलगायतका विषयमा पार्टीले गर्नसक्ने कामका सन्दर्भमा स्पष्ट गरिएको छ । 

रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने र महिलाद्वारा सञ्चालित साना तथा घरेलु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट दिने घोषणा पत्रमा उल्लेख छ । 

त्यस्तै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने, सुत्केरी सेवा तथा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म मासिक रुपमा ३ हजार भत्ता दिने र प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप दिने जस्ता कार्यक्रम पनि राप्रपाले ल्याएको छ ।