काठमाडाैँ / आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार राति बसेको एमाले सचिवालय बैठकले घोषणापत्रको मस्यौदा पारित गरेको एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

घोषणापत्र तयारी समितिले आफ्नो रिपोर्ट पेश गरेको र सोही रिपोर्टलाई बैठकले पारित गरेको गुरुङको भनाइ छ ।घोषणा पत्र भने कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बैशाख ९ गते मात्र सार्वजनिक गर्ने एमालेको तयारी छ ।

पार्टी स्थापना दिवसकै दिन थापाथलीमा रहेको केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा सार्ने र करिब १७ जना जेष्ठ कम्युनिस्टलाई विशेष सम्मान गरिने गुरुङले बताए ।  

बैठकले १२ वटा विभाग समेत थप गरेको छ। हाल कायम रहेको विभागमा १२ विभाग थप गर्ने निर्णय भएको गुरुङले जानकारी दिए । 

गुरूङका अनुसार बैठकले सल्लाहकार परिषद्को आकार पनि बढाउने निर्णय गरेको छ । हाल कायम रहेको १७३ सदस्यीय सल्लाहकार परिषद्मा  १०५ जना थपेर २७८ जना बनाइएको छ भने सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गरिएको छ । 

यसअघि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक सूचीमा रहेका कतिपय व्यक्तिहरू स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न पालिका वा जिल्ला कमिटीबाट सिफारिस भइ आएकाले निर्वाचन आयोगलाई यसअघिको विवरणबाट हटाइदिन आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ।  

एमालेले सत्ता गठबन्धनले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र गरेको आरोप समेत लगाएको छ । बैठकले चुनाव सार्ने षड्यन्त्रको कडा प्रतिवाद गर्ने निर्णय गरेको गुरुङले जानकारी दिए ।