झापा / स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच दलीय गठबन्धनलाई हराउन साना दल र समूहसँगको चुनावी तालमेल र गठबन्धनलाई तिव्रता दिएको छ ।

स्थानीय तह निर्वाचनमा गठबन्धन दलसँग एक्लै प्रतिस्पर्धा गर्ने बताउँदै आएपनि चुनावमा हार्ने सम्भावना देखेपछि एमालेले चुनावी तालमेल र गठबन्धनलाई तिव्रता दिएको हो ।

OM Sai Pathibhara Hospital

एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकालको परिवार दल, महन्थ ठाकुर नेतृत्वको लोसपा, सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लवको नेकपा, नारायणमान बिजुक्छेको नेमकिपा र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीदेखि कांग्रेसको असन्तुष्ट (गोविन्दराज जोशी) समूहसँग चुनावी तालमेल गर्ने भएको छ ।

राप्रपा नेपाल र परिवार दलसँग एमालेले चुनावी तालमेल गर्ने केन्द्रीयस्तरमै सहमति गरेको सार्वजनिक भैसकेको छ भने लोसपा, जनमत, नेकपा, नेमकिपा, प्रगतिशील र गोविन्दराज जोशी समूहसँग तालमेल गर्ने सहमति भइरहेको छ ।

एमालेले चुनावी तालमेलका लागि सहमति गरेका दल तथा समूहहरू पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलको तुलनामा ससाना रहेका छन् । 

एमालेले राप्रपा नेपालसँग मकवानपुर, चितवन, कास्की, महोत्तरी, पर्सा लगायतका जिल्लाका स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ । 

राप्रपा नेपालको प्रभाव भएका स्थानमा एमालेले सघाउने र एमालेको राम्रो भएका स्थानमा राप्रपा नेपालले सघाउने गरी सहमति भएको राप्रपा नेपालका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिए । 

त्यस्तै लोसपासँग पनि मधेस प्रदेशका केही जिल्लामा एमालेले चुनावी तालमेल गर्ने तयारी गरेको छ । त्यसका लागि एमाले र लोसपा नेताहरूबीच विभिन्न चरणमा छलफल भैरहेको भए पनि नेताहरूले त्यसलाई गोप्य राखेका छन् ।

एमालेलगायत अन्य दलसँग पनि स्थानीयस्तरमा चुनावी तालमेल हुनसक्ने लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । तर उनले अहिलेसम्म कुनै पनि स्थानमा तालमेल भैनसकेको बताए ।

लोसपाको प्रभाव क्षेत्र मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्ला मानिन्छन् । सोही अनुसार एमाले र लोसपाबीचमा गठबन्धन गर्ने तयारी भइरहेको नेताहरूको भनाइ छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग एमालेले सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका केही जिल्ला रोल्पा, प्युठान कालिकोट, रोल्पा, कपिलवस्तु लगायतका जिल्लामा तालमेल गर्ने तयारी भएको विप्लव समूहका केन्द्रीय सदस्य ओम पुनले जानकारी दिए । 

त्यस्तै तनहुँमा काँग्रेससँग असन्तुष्ट रहेका पूर्व मन्त्री गोविन्दराज जोशीको समूहसँग एमालेको तालमेल गर्ने सहमति भइसकेको छ भने सिके राउत नेतृत्वको जनमत पार्टी र एमालेबीच मधेस प्रदेशका केही स्थानमा तालमेल हुने एमाले नेताहरूको भनाइ छ । 

एमालेले कर्णालीका केही जिल्लामा नेमकिपासँग र जनता प्रगतिशिल पार्टी नेपालसँग लुम्बिनीका केही स्थानमा चुनावी तालमेल गर्ने सम्भावना रहेको एमाले नेताहरूको भनाई छ ।