बिर्तामोड / आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दशैँ  । देवीको पूजा र उपासना गर्दै मनाइँदै छ ।

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दशैँ मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई वडादशैँ  र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ ।

पुराना कथन अनुसार, पहिले मुख्य दशैँ चैतमा पर्ने गर्दथ्यो । तर यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।

चैते दशैँ असोजमा पर्ने वडादशैँ  जस्तो धुमधामका साथ मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई दशैँ भनेर हिन्दुधर्मालम्बीहरुले रमाइलो गर्छन् ।