बिर्तामोड / केही दिन अघि मोरङको उर्लाबारीबाट बरामद भएको अवैध कपडाको कारोबारीमाथि छानविन सुरु गरेपछि व्यवसायीको दवाव झेलीरहेको राजश्व अनुसन्धान विभागले बिहीबार राती बिर्तामोडमा नै अवैध कपडा रहेको सूचनाको आधारमा अर्को एउटा घरमा पनि छापा मारेर घर नै सिलबन्दी गरिदिएको छ ।

उर्लाबारीमा बरामद कपडा सँग जोडिएका कारोबारीको बिर्तामोडको शनिश्चरे रोडमा रहेको पसलमा छामा मार्ने क्रममा बिर्तामोडका व्यवसायी आन्दोलनमा उत्रिएकै दिन राती विभागले अवैध रुपमा भारतबाट भित्रिएको कपडा र मोटरपार्टस् गोदाम गरी राखेको घर सिलबन्दी गरिदिएको हो ।

बिर्तामोड – ३ स्थित दिपेन्द्र आचार्यको घरमा कपडाको अवैध कारोबारमा संलग्न रहेको मानिएका सञ्जीव घोष , भीम कुँवर , प्रदीप राजवंशी , रमेश साह र सिता दाहाल काफ्लेले भारतबाट अवैध रुपमा भित्राएर आचार्यको घरमा लत्ताकपडा र मोटर पार्टस लगायतका सामान भण्डारण गरी राखेको सूचनाका आधारमा सो घरमा छापामारी सिलबन्दी गरिएको विभाग स्रोतले जानकारी गराएको छ ।


राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थ खनालले विभागले कर छलीमा संलग्न विरुद्ध थालेको अनुसन्धान र कारवाहीका क्रममा बिहीबार राती बिर्तामोडको अर्को एक गोदाम छापा मारी सिलबन्दी गरिएको पुष्टि गरेका छन् । उनले अवैध कारोबारमा संलग्नले भारतबाट ल्याएको सामान भण्डारण गरी राखेको सूचनाका आधारमा गोदाम सिलबन्दी गरिएको र कारोबारमा संलग्नको खोजी थालिएको जनाएका छन् ।

उनले अवैध कारोबार नियन्त्रणको जिम्मेवारी बोकेका सुरक्षाकर्मीकै मिलेमतोमा अवैध कारोबार हुने गरेको सूचना पाएकाले सुरक्षाकर्मीलाई समेत जानकारी नै नदिई विभागकै टोलीले मध्यराति इटहरीबाट झापा आएर गोदाम सिलबन्दी गर्नु परेको समेत बताएका छन् ।

सूचना दिनेको समेत सुरक्षाकर्मीमाथि विश्वास टुटेको पछिल्ला केही दिनमा बरामद अवैध सामानले पुष्टि गरेको बताउँदै उनले अवैध कारोबारका विषयमा चनाखो रहन जिल्ला स्थित सुरक्षा अङ्गका कर्मचारीलाई सुझाव समेत दिएका छन् ।

विभागले एक साता अघि उर्लाबारीबाट सुरक्षाकर्मीको सहयोगमा पिकअप गाडी सहित लाखौं मूल्य बराबरको लत्ताकपडा बरामद गरेको थियो । बरामद सामानको अनुसन्धानका क्रममा बिर्तामोडमा रहेको साह कपडा पसलका संचालकको अवैध कारोबारमा संलग्नता रहेको खुलेपछि विभागले सो पसलका संचालकसँग उनको पसलमा भएका सामानको बिजबिजक उपलब्ध गराउन आग्रह गरेको थियो ।

पसल संचालकले विभागको अनुसन्धानलाई सहयोग नगरेर उद्योग वाणिज्य संघ बिर्तामोडका पदाधिकारी प्रकाश शिवाकोटी , राजु न्यौपाने र राजेन्द्र थापा लगायतलाई बोलाएर छानविन रोकाउन कोसिस गर्दै आएका थिए । आफ्ना कर्मचारी लगातार बिल–बिजकका लागि दिन सम्म सो पसलमा पुग्दा पनि संघका पदाधिकारीले अवरोध गरेपछि बाध्य भएर थप अनुसन्धान अघि वढाउन विभागको केन्द्रिय कार्यालयको निर्देशनमा सो पसल सिलबन्दी गरिएको ईंटहरी स्थित कार्यालयका प्रमुख खनालले बताएका छन् ।

उनले विभागको अनुसन्धान नै प्रभावित गर्न खोजेपछि झापाका प्रमुख जिल्ला अधिकारीको सहयोगमा पसल सिलबन्दी गरिएको बताउँदै अवैध कारोबारी जोगाउन भईरहेको विरोध र आन्दोलनले अनुसन्धान नरोकिने स्पष्ट पारेका छन् ।

विभागले केही दिन अघि विर्तामोडकै एक औषधी व्यवसायीले अवैध रुपमा भित्राएको करिव ८० लाख मूल्य बराबरको औषधी सहित रातो नम्वर प्लेटको गाडी र सो गाडीका संचालक सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

सो घटनामा सलग्न रहेको भनेर पहिचान भएकी ईलामकी महिला कारोबारी र विर्तामोडका औषधी व्यवासायी आयातकर्तालाई जोगाउन उनीहरुको नाम अदालतमा पेश भएको मिसीलमा लुकाएको पाईएपछि सो विषयमा समेत विभागले छानविन थालेको विभागको केन्द्रिय कार्यालयका एक अधिकारीले बताएका छन् । विभाग स्रोतका अनुशार महिलाको बोलाउने नाम र नागरिकतामा रहेको नाम फरक पाएपछि प्रहरीले जोगाउनका लागि उनको बोलाउने नाम र फेसबुकमा रहेको फोटो अदालतमा बुझाएर जोगिने ठाउँ दिईएको छ ।

ईलाम र झापमा रहेका सवै प्रहरी अधिकारीसँग परिचित रहेकी महिला र व्यवासायी जोगाउन मिशिल तयार भएको पाईएपछि औषधी व्यवस्था विभाग र राजश्व अनुसन्धान विभागले सो विषयमा अनुसन्धान अघि वढाएको बताईएको छ ।

करछली र नेपालमा बिक्री अनुमति नलिएका अवैध औषधीको कारोबारमा जोडिएका गाडीधनी , केरिङको काम गर्ने ईलामकी महिला अनि औषधी आयात गर्ने बिर्तामोडका औषधी व्यवासायी तिन जना जोगाउने गरी स्थानिय प्रहरीले मिसिल तयार पारेको सूचना पाएपछि सो विषयमा सुक्ष्म अनुसन्धान सुरु गरिएको विभाग स्रोतले बताएको छ ।

त्यैगरी बिहिबार बिहान नै बिर्तामोडबाट अवैध कपडा बोकेर दमक तर्फ जाँदै गरेको  मे १ च ५९८७ नम्वरको गाडी र सो गाडीमा भएको अवैध कपडासँग जोडिएका माथि पनि विभागले अनुसन्धान गरिरहेको विभागको ईटहरी स्थित कार्यालयका प्रमुख खनालले बताएका छन् ।

खनालले पछिल्लो समयमा सुनसरी , मोरङ र झापामा विभागको सकृयतामा भएका अप्रेशनका क्रममा बरामद लत्ता कपडा , चिनि , औषधी , मोटपार्टस , सवारीसाधान र तिनका चालकमाथिको प्रारम्भिक अनुशन्धानले झापा र ईलाममा बसेर अवैध कारोबार गर्नेका रुपमा चिनिएकाहरु रहेको पाईएकाले थप अनुसन्धान जारी राखिएको बताएका छन् ।

विभागले भन्सार एजेन्ट र भन्सार कर्मचारीको मिलेमतोमा मेचि भन्सार कार्यालयबाट गत चैत्र ८ गते न्यून भन्सार मुल्याङ्न गरेको पाईएपछि नियन्त्रणमा लिईएका दुईवटा कन्टेरका विषयमा पनि केन्द्रिय कार्यालयले अनुसन्धान गरीरहेको जनाएको छ । विभागले मेचि भन्सारबाट जाँचपास भई निस्केका जुत्ता बोकेका ना ६ ख ५८३ र प्रदेश १ –०२००१ ख ९५२६ नम्वरका दुईवटा कन्टेनर नियन्त्रणमा लिएको थियो ।