बिर्तामोड / सिंगो मुलुक र सुरक्षा अंगको ध्यान निर्वाचनमा गएका बेला भारतसँग सिमाना जोडिएका क्षेत्रमा तस्करी मौलाएपछि सकृय बनेको राजश्व अनुसन्धान विभाग विरुद्ध बिर्तामोडका व्यवसायी आन्दोलित बनेका छन् ।
राजश्व अनुसन्धान विभागबाट तस्करी नियन्त्रणका लागि खटिएको टोलीले भारतबाट तस्करी भई आएको लत्ताकपडा गोदाम गरी राखेको सूचनाका आधारमा बिर्तामोडको मुख्य बजार क्षेत्र शनिश्चरे रोडमा रहेको कपडा पसलमा छामा मारे पछि बिर्तामोडका व्यवसायी आन्दोलित बनेका हुन् ।
विभागको टोलीले शनिश्चरे रोडमा रहेको साह कपडा पसलमा छापा मारी दोकान सिलबन्दी गरिदिएपछि बिर्तामोडका व्यापारी सडकमा उत्रिएका छन् । विभागले व्यवसायीलाई आतङ्कित बनाउन थालेको भन्दै उद्योग वाणिज्य संघ बिर्तामोडको अगुवाइमा विभाग विरुद्ध व्यवसायीले बजार र यातायात नै बन्द गरेर प्रदर्शन थालेका हुन् ।
संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले पसलमा केटाकेटी मात्रै रहेको समयमा विभागले छापा पारेर व्यवसायीलाई आतङ्कित बनाएकाले आन्दोलनमा उत्रिनु परेको बताएका छन् । विभागको सिलबन्दी विरुद्ध आन्दोलनमा व्यसायी उत्रिएपछि बिर्तामोड बजार क्षेत्र बन्द भएको छ भने यातायात समेत अवरुद्ध भएको छ ।
तर उता राजश्व अनुसन्धान विभागले भने झापाका ग्रामीण क्षेत्रबाट तस्करी भई आएको सामान गोदाम गरी राखेको सूचनाको आधारमा सो पसलमा छापा मारिएको जनाएको छ । पसलमा विभागको टोली पुग्दा पसलमा रहेको सामानको बिजबिजक दिन नसकेपछि अनुसन्धानका लागि पसल सिलबन्दी गरिएको विभागले बताएको छ ।
राजश्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा प्रकाश पौडेल पुगे लगत्तै विभागले तस्करी नियन्त्रणका लागि देशभर सकृयता बढाएको छ । झापा ,मोरङ , सुनसरी , सप्तरी , सिराहा , बारा , पर्सा , रूपन्देही र नेपालगन्ज लगायतका ठाउँबाट तस्करी भई ठूलो परिमाणमा कपडा आयात हुने गरेको अनि काठमाण्डौ सम्म पुग्ने गरेको अनुसन्धानका क्रममा खुलेपछि विभाग तस्करी नियन्त्रणका लागि पछिल्लो समयमा सकृय बनेको हो ।
विभागले केही दिन अघि झापाकै काँकडभिट्टा स्थित मेची भन्सार कार्यालयबाट भन्सार एजेन्ट र कर्मचारीको मिलेमतोमा न्यून भन्सार मल्याङ्कन गरी आयात भएको दुई कन्टेनर जुत्ता चप्पल नियन्त्रणमा लिएर यतिबेला अनुसन्धान गरिरहेको छ । मेचि भन्सारबाट विभागले गत चैत्र ८ गते ना ६ ख ५८३ र प्रदेश १ – ०२००१ ख ९५२७ नम्बरका गाडी नियन्त्रणमा लिएको थियो ।
बिहीबार बिहान पनि विभागलाई प्राप्त भएको सूचनाका आधारमा झापाको पाडाजुँगीबाट मे १ च ५९८७ नम्बरको पिक अप भ्यान र त्यसमा रहेको कपडा बरामद भएको थियो । बरामद कपडा पनि सिमानाका हुँदै अवैध बाटोबाट भित्रिएको पाईएपछि सशस्त्र प्रहरीको सहयोगमा विभागले बरामद गरेको थियो ।
एकसाता अघि भारतीय सिमाक्षेत्रबाट अवैध रुपमा भित्रिएको कपडा सहित राजश्व अनुसन्धान विभागको सूचनाका आधारमा उर्लाबारीबाट प्रहरीले एउटा गाडी नियन्त्रणमा लिएको थियो । उर्लाबारीबाट नियन्त्रणमा लिएको गाडी र पक्राउ परेकाको बयानमा बिर्तामोड स्थित साह कपडा पसल जोडिएको थियो । विभागको ईंटहरी स्थित कार्यालयले उर्लाबारीबाट बरामद सामानको छानविनका क्रममा साह कपडा पसल तस्करीमा संलग्न रहेको खुलेपछि सो पसल र त्यसका संचालकलाई अनुसन्धानको दायरामा तानिएको विभागको ईटहरी स्थित कार्यालयले जनाएको छ ।
कार्यालयका कर्मचारीले विगत दुई दिन मंगलबार र बुधबार दुई दिन सम्म बरामद कपडाका विषयमा आवश्यक कागजात माग्दा नदिएर छानविनमा असहयोग गरेपछि जिल्ला प्रशासन कार्यालय झापाको सहयोगमा सो पसल सिलबन्दी गरिएको कार्यालयले जानकारी गराएको छ । पसल संचालक सँग कागजात माग्दा उद्योग वाणिज्य संघका पदाधिकारी वोलाएर लगातार दुई दिन सम्म पनि अवरोध गरेपछि पसल नै सिलबन्दी गरिएको विभागको ईटहरी स्थित कार्यालयले बताएको छ ।
मंगलबार र बुधवार साहको पसलमा विभागलाई आवश्यक कागजात लिन जाँदा संचालकले वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र उपाध्यक्ष्य राजु न्यौपाने लगायतलाई बोलाएर अवरोध पुर्याएकाले विभागको केन्द्रिय कार्यालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय झापाको सहयोगमा पसल शिलब्दी गरी कानुनी कारवाही थालिएको ईटहरी स्थित कार्यालयले जनाएको छ ।
त्यसैगरि केही दिन अघि ईलामबाट झापाको बिर्तामोड स्थित एक औषधी व्यवासायीले अवैध रुपमा भित्राएको करिव ८० लाख मूल्य बराबरको औषधी पनि विभागलाई प्राप्त भएको सुचनाकै आधारमा प्रहरीले बरामद गरेको थियो । ठूलो परिमाणमा भएको औषधी बरामदमा संलग्न व्यवसायीलाई भने स्थानिय प्रहरीले जोगाउने कोशिस गरेका छन् ।
स्थानिय प्रहरीले सो घटनामा पनि बरामद सामान औषधी व्यवस्था विभागको जिम्मा लगाउने क्रममा पनि केरिङ गर्ने व्यक्ति मात्रै उल्लेख गरेर दिएकाले मूख्य आयातकर्ता व्यवसायी भने कानुनी कारवाहीमा तानिएका छैनन् । सो समयमा प्रहरीले नियन्त्रणमा लिएको सवारी चालक र बरामद सामान मात्रै विभागको जिम्मा लगाईएको थियो ।
सुनसरीको ईटहरी स्थित बसपार्क क्षेत्रबाट पनि केही दिन अघि भारतबाट अवैध रुपमा भित्रिएको एक ट्रक चिनि राजश्व अनुशन्धान विभागकै सकृयतामा सुरक्षा निकायले बरामद गरेको थियो ।
तस्करी नियन्त्रणका लागि राजश्व अनुसन्धान विभाग सकृय बनेपछि भारततर्फ पनि कम्टम विभाग सकृय बनेको छ । विभागले बुधबार मात्रै जोगवनी भन्सार नजिकको फारविसगंज क्षेत्रबाट व्यवसायीले अवैध रुपमा नेपाल तर्फ लाँदै गरेको तिन गाडी कपडा बरामद गरेको थियो ।
मुलुक निर्वाचनमय बनेको समयमा मौलाएको तस्करी नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग सकृय बनेपछि विरगंज , सुनौली , नेपालगन्ज , चितवन र काठमाण्डौबाट ठूलो परिमाणमा अवैध रुपमा भित्रिएको कपडा बरामद भईसकेको छ भने तस्करीमा संलग्नहरु फरार भएपछि विभागले सुरक्षा निकायको सहयोगमा उनीहरुको खोजी गरिरहेको छ ।
सरकारले कपडा आयातमा १० प्रतिशत मार्जिन रकम आवस्यक पर्ने निती बनाएपछि भन्सार हँुदै हुने गरेको कपडा आयात शुन्यमा झरेपछि विभागले चोरी नाका भएर आयात हुन थालेको निष्कर्ष निकाल्दै तस्करी नियन्त्रणका लागि देशैभर निगरानी वढाईएको जनाएको छ ।
विगतमा मुलुकलाई आवश्यक कपडा मध्ये करिव ५० प्रतिशत भन्सार हुँदै आउने गरेको अनुमान गरिन्छ । तर मार्जिन रकमको पछिल्लो व्यवस्थाका कारण कोशी पूर्वमा रहेका विराटनगर , कोशी ब्यारेज , मेची र भद्रपुर भन्सारबाट हुने गरेको कपडा आयात समेत घटेको पाईएकाले बजार अनुगमन र निगरानी वढाइएको विभागको ईटहरी स्थित कार्यालयले जनाएको छ ।
विभागले तस्करी बढेको दावी गरीरहँदा सुरक्षा निकाय भने तस्करी बढेको विभागको दावीसँग सहमत छैन । तस्करी नियन्त्रणको दायित्व बोकेको सशस्त्र प्रहरी र सिमा क्षेत्रमा समेत राम्रो उपस्थिति भएको जनपथ प्रहरी समेत विभागको दावी सँग सहमत छैनन ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणि पोख्रेलले विभागले दावी गरे जस्तो आफ्नो जिल्लामा तस्करी नभएको वताएका छन् । तस्करी नियन्त्रणका लागि आफूले सक्दो कोशिस गरीरहेको बताउँदै पोख्रेलले तस्करीको सुचना पाए नियन्त्रणका लागि कुनै पनि कसर बाँकी नराख्ने जनाएका छन् ।
तस्करी नियन्त्रणको प्रमुख दायित्व वोकेको शसस्त्र प्रहरीको चन्द्रगडी स्थित दुई नम्वर गणका गणपति समेत रहेको प्रहरी उपरिक्षक प्रदिप सिंह कार्कीले पनि तस्करी नियन्त्रणका लागि रातीको समयमा समेत सुरक्षाकर्मी परिचालन गरेर निगरानी वढाइएको बताएका छन् ।
उनले पनि खुला सिमा रहेकाले पनि तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न कठिनाई हुने गरेको जनाएका छन् । उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरेर नियन्त्रणका लागि प्रयास गरिरहेको बताउँदै उनले तस्करीको सुचना भए आफूलाई दिएर सहयोग गर्न आग्रह गरेका छन् ।