काठमाडौँ / सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
श्रीमतीको गीता ढकालको हत्या गरेको आरोप लागेका डीआईजी कोइराला विरुद्धको मुद्दा दर्ता भएको डेढ वर्षपछि सुनुवाइका लागि आज पेसीमा चढेको हो ।
महान्यायाधिवक्ताको कार्यालयले दिएको पुनरावेदन निवेदन बिहीबार न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा पेसी तोकिएको हो ।
श्रीमतीको हत्या कसुरमा जिल्ला अदालत काठमाडौँले कोइरालालाई जन्मकैद फैसला सुनाएको थियो। तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद सजाय ८ वर्ष ६ महिनामा झारेको थियो। कोइराला गत साउन ८ गते जेलमुक्त भएका थिए।
तर महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको यो फैसला नजिर एवम् कानुनी सिद्धान्त प्रतिकूल भएको भन्दै कोइराला जेलमुक्त भएकै दिन पुनरावलोकनका लागि निवेदन दिएको थियो।