विराटनगर / मोरङको लेटाङ घटना छानबिन गर्न प्रदेश १ प्रहरी कार्यालय विराटनगरले पाँच सदस्यीय समिति गठन गरेको छ ।
वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा एक डिएसपी, एक प्रहरी निरीक्षकसहितको पाँच सदस्यीय समिति गठन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसीले जानकारी दिए ।
बिसीका अनुसार समितिलाई घटनाको छानविन गर्न १० दिनको म्याद दिइएको र उक्त म्यादभित्र कार्यसम्पादन हुन नसके म्याद थप हुन सक्ने छ ।
लेटाङ ५ खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका यौन दुर्व्यवहार आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गत आइतबार आक्रोशित भीडले आक्रमण गर्दा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।
आक्रमणमा २५ प्रहरी र सातजना सर्वसाधारण घाइते भएका थिए । घटनामा संलग्न भएको आशङ्कामा मोरङ प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।