विराटनगर / लेटाङको चार किल्ला सीमाना भित्र लगाइएको कफ्र्यू जिल्ला प्रशासन कार्यालय मोरङले केही परिवर्तन सहित जारी राख्ने निर्णय गरेको छ ।
शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना पश्चात उत्पन्न परिस्थितिले उग्ररूप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा सोमबार बिहान सात बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाएको थियो ।
घटना पूर्ण रुपमा साम्य नभएको भन्दै मोरङ प्रशासन चैत्र ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्म दिनको ६ घण्टा निर्वाध आवागमन गर्न पाउने गरी कर्फ्यु जारी राख्ने निर्णय गरेको हो ।
दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ।
फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। घटनामा मोरङ प्रहरी उपरीक्षकसहित १० जनाभन्दा बढी प्रहरी र स्थानीय बासिन्दा घाइते छन्।
घाँटीमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै आक्रोशित शिक्षा विकास माविका विद्यार्थी र स्थानीयले प्रहरीसँग आरोपित शिक्षक आफूहरूलाई जिम्मा लगाउन माग गरेका थिए। तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको थियो।