बिर्तामोड / अर्थतन्त्र अस्थिर भइरहेको समयमा पछिल्लो सात महिनामा भएको अर्बौँको फलफूल आयातका कारण व्यापार घाटा थप चुलिएको छ । पछिल्लो सात महिनामा भारत , चिन , टर्की , दक्षीण अफ्रिका , इजिप्ट जस्ता मुलुकहरूबाट गरिएको ६ अर्ब भन्दा बढी मूल्य बराबरको फलफूल आयातले अर्थतन्त्रलाई प्रत्यक्ष रुपमा असर पारिरहेको छ ।

स्वदेशमा नै खेती गरेर राम्रो आयआर्जन गर्न सकिने आँप , स्याउ , सुन्तला , कागती र अंगुर जस्ता फलफूल चालू आर्थिक वर्षमा मात्रै ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० रुपैयाँ मूल्य बराबरको आयात भएको तथ्यांक सार्वजनिक भएको छ ।  छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ सबै भन्दा धेरै आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।

OM Sai Pathibhara Hospital

भारतबाट एक अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ , टर्कीबाट २६ लाख २५ हजार मूल्य बराबरको स्याउ , ७८ करोड ५१ लाख १५ हजार छ सय मूल्यका बराबरका सुन्तलाको आयात भएको छ । 

सो अवधिमा भारतबाट ७७ करोड ४८ लाख ७२ हजार, साउथ अफ्रिकाबाट ९० लाख ७७ हजार र टर्कीबाट ११ लाख ६६ हजार ६०० मूल्य बराबरका कूल एक करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको छ । त्यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ५३ करोड ९६ लाख पाँच हजार मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ । 

पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ ।  ४५ करोड ५६ लाख ७७ हजार मूल्य बराबरका सुक्खा र ताजा गरी कूल ४८ लाख ९३ हजार आठ किलोग्राम अङ्गुर आयात भएको भन्सार विभागमा तथ्याङ्क छ ।

भारतबाट झन्डै रु १० करोड मूल्य बराबरको भुइँकटहर, युगान्डा र मेक्सिकोबाट रु दुई करोडको एभोकाडो, भारतबाट रु १६ करोडको खर्बुजा, चीनबाट रु १३ करोडको नासपाती भारतबाट चार करोडको किवी, नौ करोडको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलोजन्य एवं विभिन्न थरीका अन्य फलफूल गरी झन्डै तीन अर्बको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

स्वदेशमा राम्रो उत्पादन गरेर आम्दानी सम्म गर्न सकिने फलफूलहरूको आयातले निम्त्याएको व्यापार घाटासँगै देशको परनिर्भरता समेत चुलिँदै गएको छ । नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत घोषणा गरेपनि आवश्यक योजना र निती बनाएर कार्यान्वयन गर्न भने सकेको छैन । 

संघीय सरकार देखि स्थानीय तहसम्मले कृषिको परनिर्भरता घटाउनलाई नीति बनाएर परिचालन गरे मात्र हरेक वर्ष बढ्दै गएको फलफूल आयातलाई न्यूनीकरण गर्न सकिने छ ।