झापा / स्वस्थानी व्रतकथा  आजबाट समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरूले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो ।

परम्परादेखि नै श्री स्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए ।

OM Sai Pathibhara Hospital

माधवनारायणको व्रत बसेका व्रतालुले पनि बुधबार नै व्रत समापन गर्दैछन् । व्रत समापनमा सहभागी हुन साँखु र त्यस वरपरको क्षेत्रका बासिन्दालाई निम्तो गरिएको छ । बज्रयोगिनी माईलगायत साँखु बजार बाहिर पनि सुन्ने गरी गर्ने शंख बजाएर व्रत समापनको निम्ता गर्ने प्राचीनकालदेखिको विधि छ । व्रत समापनलाई स्थानीयले अश्वमेध यज्ञ गर्ने पनि भन्छन् ।

साँखु शालीनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ व्रत बसेका छन् । माघ महिनामा स्वस्थानी र माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ पूर्णिमा शुक्ल का दिन व्रतालुले व्रत समापन गरेको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा छ ।