बिर्तामोड / कोरोनाको नयाँ भेरियन्ट तीब्र गतिमा फैलिएसँगै झापाको कन्काई माई यस वर्ष पनि मेला नलाग्ने भएको छ  । 

सोमबार दिउँसो कन्काई नगरपालिकामा बसेको कन्काई र शिवसताक्षी नगरपालिकाको संयुक्त बैठकले माई मेला नलगाउने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

बढ्दो कोरोना सङ्क्रमणको कारण देखाउँदै कोभिड –१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृह प्रशासनलाई सिफारिस गरेपछि माई मेला स्थगित गरिएको बताइएको छ । 

हरेक वर्ष कन्काई नदीको पूर्वपट्टि कन्काई नगरपालिका र पश्चिमपट्टि शिवसताक्षी नगरपालिकाले मेला लगाउने गरेका थिए । 

मकर नुहाउन र मेलाका लागि नेपाल तथा भारतबाट हजारौं सङ्ख्यामा तीर्थयात्री आउने भएकाले कोरोना सङ्क्रमणको जोखिमलाई मध्य नजर गर्दै दुवै नगरपालिकाले यस वर्ष मेला नलगाउने निर्णय गरेको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको माई मेलामा भारतको सिक्किम, दार्जिलिङ, मणिपुर, आसाम लगायत नेपालको विभिन्न भागबाट मकर नुहाउनका लागि तीर्थालु भक्तजनहरू आउने गर्दछन् । 

सामान्य अवस्था हुँदा यतिबेला माई मेलाको तामझाम नै बेग्लै हुने गर्दथ्यो । मेला लाग्ने स्थान कन्काई नदी वारिपारि माइधार र कोटिहोममा खेल तमासा तथा व्यवसायीहरूले भरिएको हुन्थ्यो । 

माघ १ गते अर्थात माघे संक्रान्तिका दिन लाग्ने यो मेला नलाग्दा आन्तरिक आयस्रोतमा समेत ठूलो धक्का लागेको छ ।