काठमाडौँ  / हनुमानढोका क्षेत्रभित्र राखिएको मल्लकालीन शिलालेख तोडफोड भएको छ । 

अज्ञात समूहले बिहीबार कृष्ण मन्दिर बाहिर राखिएको प्रताप मल्लकालीन शिलालेख तोडफोड गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार सो अभिलेख राजा प्रताप मल्लको समय अर्थात् वि.सं. १७०५ मा राखिएको हो । अभिलेख तोडफोड भएको जानकारी पछि त्यसका सबै टुक्राहरू संकलन गरेर हेरचाह अड्डामा सुरक्षित राखिएको खनालले जानकारी दिए ।

अभिलेख तोडफोडको बारेमा महानगरीय प्रहरी वृत्त हनुमानढोका र पुरातत्व विभागलाई जानकारी गराइसकिएको हेरचाह अड्डाले जनाएको छ । 

हेरचाह अड्डाले सो अभिलेखको टुक्रालाई जोडेर पहिलेकै अवस्थामा ल्याउनको लागि विज्ञहरूसँग छलफल गरिरहेको जनाएको छ ।