काठमाडौं / इसाई धर्मका संस्थापक प्रभु येशू ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । 

येशू ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ ।

OM Sai Pathibhara Hospital

क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशू ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशूको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसको आकर्षण शान्ता क्लस हुन् । रातो टोपी लगाएका लामो सेतो दाह्री पालेका वृद्ध सान्ताले सबैलाई उपहार दिने र खुशी बाँड्ने छन् भन्ने विश्वास गरिन्छ । 

क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिक स्थल सजाइएको छ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मरियमको कोखबाट येशूको जन्म भएको विश्वास गरिन्छ । येशूलाई जिसस क्राइस्ट पनि भनिन्छ । 

उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।