काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन, ( चेनरोल, औंठी र चुरा ) सहित पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेहरूमा ३० वर्षीय ताहिदुल तनवीर, एमडी युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडी मिराजुल इस्लाम रहेका छन् ।

OM Sai Pathibhara Hospital

पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुल को साथबाट ४३० ग्राम पहेँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै मंगलबार बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोला परीक्षण गर्दा उक्त धातु फेला परेपछि नियन्त्रणमा लिइएको हो ।


उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।