धनुषा / धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ ।

विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो ।
 
सीताराम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा आयोजित सामूहिक विवाह समारोहमा विभिन्न जातजातिका जोडीको विवाह गराइएको विश्व हिन्दु परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

विश्व जगतमा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रुपमा रहेको प्रचार प्रचारसँगै विकास गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सामूहिक विवाह समारोह आयोजना गरिएको अध्यक्ष साहले बताए ।

विवाह समारोहमा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव लगायतले नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिए ।  

विश्व हिन्दु परिषद् नेपालले विगत चार वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलिपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ । अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण सामूहिक विवाह समारोह गर्न सकिएको थिएन ।