फुङ्लिङ / सीमान्तकृत वालुङ समुदायले फुटुक पर्व आगोको रापले गुम्बाको धुरी कटाएर मनाएको छ ।

आगोको रापले गुम्बाको धुरी काट्यो भने शुभ हुन्छ भन्ने मान्यताका साथ वालुङ समुदायले फुटुक पर्व मनाएका हुन् ।

OM Sai Pathibhara Hospital

यो पर्व ताप्लेजुङको फकताङलुङ गाउँपालिका –७ हिमाली बस्ती ओलाङचुङगोलामा मात्र मनाइन्छ। गत वर्ष कोरोनाले प्रभाव परे पनि यस वर्ष भने वालुङ समुदायले धुमधामका साथ फुटुक पर्व मनाएका छन् ।

परापूर्वकालदेखि यस गाउँमा मात्र मनाइँदै आएको यो पर्वमा वालुङ समुदायका आफन्तहरू साथै नजिकैका बस्ती याङ्मा, घुन्साका मानिसहरूको समेत उपस्थिति रहेको थियो ।

पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गरी देव नृत्यसमेत देखाउने गरिन्छ । पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ। आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुने स्थानीय छेतेन शेर्पाले जानकारी दिए।

यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने विश्वास गरिन्छ। समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य प्रदर्शन गर्दछन्। यस्तै लामाले देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गर्दछ ।

लामाको नृत्य हेर्न साथै आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बा नजिकै पाल टाँगेर बसेको शेर्पाले बताए। गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष पनि नरोकिएको स्थानीयको भनाइ छ।

फुटुकमा नयाँ कपडा फेर्ने, मिठोमसिनो बनाएर खाने प्रचलन रहेको छ। पर्वका समयमा सीमावर्ती चीनको तिब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस आउँने गरेको छ। 

ओलाङ्चुङ्गोलामा ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको छ। निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनि विशेषरूपमा मनाउँदै आएको बताइएको छ । 

चीन र नेपालको सीमानाका नजिकै रहेको ओलाङ्चुङगोला फत्ताङलुङ गाउँपालिका –७ मा पर्छ। यस बस्तीमा वालुङ समुदाको ५२ घरधुरी रहेका छन् भने नजिकैको बस्ती याङ्मामा १० घरपरिवार छन् ।

ओलाङचुङगोला तीन हजार २०० मिटर उचाइमा पर्दछ भने २४ किलोमिटरमा नेपाल र चीनको नाका टिप्ताला नाका पर्दछ।