काठमाडौँ / कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । काठमाडौँ  उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् ।    

उपत्यकामा १५ लाख ५५ हजार ८ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार ४ सय २० जनाले पूर्ण  खोप लगाइसकेका छन् । मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले लगाएको स्वास्थ्य विभागले जानकारी गराएको छ ।  
   
स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा ४१ प्रतिशत जनसङ्ख्याले लगाइसकेको जानकारी गराएका छन् ।
   
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ ।    काठमाडौँमा ११ लाख ३७ हजार १ सय ६८ ले पहिलो मात्रा र ९ लाख ३३ हजार ३ सय ६१ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।    
   
भक्तपुरमा पहिलो र पूर्ण मात्रा खोप ४१ प्रतिशत जनसङ्ख्या तथा ललितपुरमा पहिलो मात्रा ४५ प्रतिशत र पूर्ण मात्रा ३८ प्रतिशत जनसङ्ख्याले लगाइसकेको विभागले जनाएको छ ।  
   
भक्तपुरमा १ लाख ५४ हजार ८ सय ३५ जनाले पहिलो मात्रा र १ लाख ५६ हजार ८ सय ८२ जनाले पूर्ण मात्रा  खोप लगाइसकेका छन् ।    ललितपुरमा २ लाख ६३ हजार ८ सय ९२ जनाले पहिलो मात्रा र २ लाख २२ हजार ३ सय ७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।     
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप ६० लाख ५७ हजार १ सय ९४ र पूर्ण मात्रा ५४ लाख ७३ हजार १ सय ५१ जनाले लगाएका छन् ।    
   
नेपाल सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता ७ महिना अर्थात भदौ १६ गते सम्ममा १ करोड ९२ हजार १ सय ६४ जनाले खोप लगाएका छन् । नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि खोप लगाउन सुरु गरिएको थियो । नेपालमा पहिलो पटक २०७६ साल माघ ९ गते सङ्क्रमण देखिएको थियो ।    
     
६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप आजका दिनसम्म आइपुग्दा ५० वर्षमाथिका सबैलाई दिइसकेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

देशभर कोभिसिल्ड पहिलो मात्रा २४ लाख ९३ हजार ३ सय ३३ र दोस्रो मात्रा १४ लाख ४५ हजार ३ सय ५१ जनाले लगाइसकेका छन् । भेरोसेल पहिलो मात्रा ३५ लाख ६३ हजार ८ सय ६१ र दोस्रो मात्रा २६ लाख २७ हजार ६ सय ५५ जना र जोन्सन एन्ड जोन्सन १४ लाख १सय ४५ जनाले लगाएका छन् । भदौ महिनामा सबभन्दा बढी २ लाख ९९ हजार १ सय ३१ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
   
सरकारले १८ वर्षभन्दा माथिका ७१.६ प्रतिशत अर्थात् कूल २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र चैत मसान्तसम्ममा लक्षित सबैलाई खोप लगाउने वताउँदै आएको छ।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्नाफाइजर खोप लगाउने तयारी गरेको छ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा खोप ल्याउन सरकारले तयारी थालिसकेको छ ।