धरान / एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका समयमा भएका भ्रष्टाचार र अख्तियार दुरुपयोगका घटना श्रृङ्खलावद्ध रुपमा सार्वजनिक हुन थालेका छन् ।

ओली प्रधानमन्त्री र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल रहेको समयमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरीलाई नियुक्त गर्न नक्कली कागजातको साहारा लिएको खुलेको छ ।

OM Sai Pathibhara Hospital

भानुभक्त ढकाललाई निर्वाचनमा सहयोग गरेका गिरीलाई नियुक्त गराउन प्राध्यापक रहेको भनेर झुटो कागजातको साहारा लिएको स्वास्थ्य मन्त्रालयले गरेको छानविनका क्रममा खुलेको हो ।

नियुक्ति लगत्तै विवादमा तानिएका गिरीले नियुक्तिका लागि प्राध्यापक भन्दै बुझाएको कागजात नक्कली रहेको विरोध भएको भएपनि तत्कालीन सरकारले सो विषयमा छानविन नगरी गिरीको संरक्षण गरेको थियो । प्रतिष्ठानका प्राध्यापक, कर्मचारी, स्वास्थ्यकर्मी र विद्यार्थीले गिरी प्राध्यापक नभएको र उनले नियुक्तिका लागि नक्कली कागजात बुझाएको भनेर विगत १५ महिना देखि विरोध गर्दै आएका थिए ।

सर्वोच्च अदालतको आदेशमा ओली नेतृत्वको सरकार ढलेपछि बनेको सरकारले उनको नियुक्तिका विषयमा परेको उजुरीमाथि छानविन थालेको थियो । ओली नेतृत्वको सरकार हुन्जेल तामेलिमा राखिएको डा. गिरी विरुद्धको उजुरीका विषयमा भएको छानविनका क्रममा उनले प्राध्यापक भन्दै बुझाएको कागजात नक्कली भएको खुलेको हो ।  

प्रतिष्ठान भित्रको बेथिति र भ्रष्टाचार अन्त्यको माग गर्दै जारी आन्दोलनलाई सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गिरी प्राध्यापक भएको प्रमाणित हुने कागजात नपाइएकाले उनीमाथि कारवाही गर्ने तयारी भएको जनाएको छ ।

एमालेकै धरान उपमहानगर कमिटी गिरीलाई जोगाउन जारी आन्दोलनको विरोधमा लागेका बेला मन्त्रालयले उनीमाथि कारवाही हुने जनाएको हो । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गिरी प्राध्यापक भएको प्रमाण नपाइएकाले उनीमाथि कारवाही हुने जानकारी गराएको हो ।

उनले नियुक्ति भएदेखि नै संचारमाध्यमसँगको कुराकानीको क्रममा आफ्नै लगानीमा सञ्चालनमा रहेको विराटनगरको विराट मेडिकल कलेजको इन्टरनल मेडिसिन डिपार्टमेन्टको प्रमुख र प्राध्यापकको रुपमा काम गरेको दावी गर्ने गरेका थिए ।

ओली नेतृत्वको सरकार ढलेसँगै चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले सो विषयमा छानविन थालेका थिए । छानविन समितिले उनी प्राध्यापक नभएको र उनले झुटो कागजातका आधारमा प्राध्यापक बनेको ठहर गर्दै स्वास्थ्य मन्त्रालयमा उनीमाथि कारवाही गर्न सुझाव सहित प्रतिवेदन बुझाएका थिए ।

प्रतिष्ठानको उपकुलपति हुन प्राध्यापक पद नै नचाहिने भएपनि उनले आफूलाई प्राध्यापक देखाउन झुटा कागजात पेश गर्दै दावी गर्ने गरेका थिए ।

चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले आफू हुँदै नभएको पद उल्लेख गरेर गिरीले अख्तियार दुरुपयोग गरेकाले उनीमाथि कानुन बमोजिम कारवाही अघि बढाउन तयारी थालेका हुन् ।