बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।
दिउँसो करिब १:२५ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक हिमाली गाउँपालिका–२ नातीखोलाका २५ वर्षीय जनवीर बुढा, सोही ठाउँका ४० वर्षीय धर्मलाल बुढा र ३१ वर्षीया मिजरा बुढा घाइते भएका छन्। त्यसैगरी हुम्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मर सिंह बुढा, २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंग सिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र करिब ९ वर्षीया सुस्मा बुढा पनि घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था मध्यम रहेको छ भने बाँकी पाँच जनाको अवस्था सामान्य छ। सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।






































