विराटनगर / उपचार खर्च भुक्तानी नगरेको भन्दै विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालले मृतकको शब नै कब्जा गरेर राखेको सार्वजनिक भएको छ ।  

उपचारका लागि गोल्डेन अस्पताल लगिएकी मोरङको कानेपोखरी –१ होक्लाबारीकी ७० वर्षीय सानमाया मगरको बिहीबार उपचारकै क्रममा मृत्यु भएको भएपनि अस्पतालले पैसा भुक्तानी नगरेको भन्दै शब नै कब्जा गरेर राखेको सार्वजनिक भएको हो ।

विपन्न परिवारकी सानमायाको मृत्यु भएपछि अस्पतालले शुल्क नबुझाएको भन्दै मृतको शब कब्जा गरेर राखेको हो । अस्पतालले बाँकी रहेको भनेको १ लाख ७८ हजार रुपैयाँ शुल्क तिर्नका लागि यतिबेला मृतकको परिवारले आर्थिक सहयोग संकलन गरिरहेको  छ ।

मृतक र उनका श्रीमान दुवै दैनिक ज्यालामा काम गर्ने भएका कारण पनि अस्पताललाई पैसा बुझाउन समस्या भएको स्थानीयले जानकारी गराएका छन् । पेट दुख्ने समस्या भएपछि बुधबार गोल्डन अस्पताल लगिएकी मृतक मगरका श्रीमानले १७ हजार अस्पतालमा बुझाएका छन् ।

स्थानीयले चन्दा उठाएर एक लाख रुपैयाँ बुझाउने तयारी गरेको भएपनि अस्पतालले शब दिन मानेको छैन । अस्पतालले स्थानीयलाई १ लाख ५० हजार नदिएसम्म शब नदिने बताएको छ ।

मृतकका श्रीमान बलबहादुर मगरले आर्थिक अवस्था कमजोर रहेकाले पैसा तिर्न नसकेको र शब अस्पतालले नदिँदा अन्तिम संस्कार गर्न नपाएको गुनासो गरेका छन् ।