बिर्तामोड / बेथिति र भ्रष्टाचारको विषयलाई लिएर आन्दोलन जारी रहेकै समयमा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा बलभद्र प्रसाद दाससँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।

अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा दायर गरेको मुद्दामा दाससँग धरौटी माग गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा रहेको समयमा भ्रष्टाचार गरेको भन्दै दास र उनकी श्रीमती पुनम दास विरुद्ध ०७७ साल भदौ ३० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले दासलाई एक करोड धरौटी बुझाउन आदेश दिएको हो । उनकी श्रीमती पुनमको हकमा भने अदालतले साधारण तारेखमा रहन आदेश दिएको छ ।

अख्तियारले डा.दास र उनकी श्रीमती विरुद्ध पदमा बहाल रहेको समयमा गैरकानुनी रुपमा ७ करोड ७१ लख ९२ हजार ८ सय ६० रुपैयाँ आर्जन गरेको अभियोग लगाउँदै अदालतमा मुद्दा दायर गरेको थियो ।अख्तियारले डा. दासले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गरी कानुन बमोजिम कारवाही गर्न माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।  

प्रा.डा. दास वि.स. ०५० सालमा हाउस अफिसरका रुपमा प्रतिष्ठानमा नियुक्त भएका थिए । हाउस अफिसर भएर प्रतिष्ठानमा प्रवेश गरेका दास अस्पताल निर्देशक हुँदै २०६८ सालमा उपकुलपति बनेका थिए ।

प्रतिष्ठानका अर्का उपकुलपति डा. राजकुमार रौनियार र रजिष्टार तुल बहादुर श्रेष्ठ सहितका अन्य पदाधिकारी अनि भ्रष्टाचारमा संलग्न दर्जनौं अधिकारी र व्यक्तिका मुद्दा अहिले पनि अख्तियार र अदालतमा विचाराधीन नै रहेका छन् ।