धरान / बेथिती र भ्रष्टाचारको विरोधमा आन्दोलनमा उत्रिएका धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी , कर्मचारी र विद्यार्थीका जायज माग सम्बोधन गर्न पूर्व उपकूलपतिहरुले माग गरेका छन् ।

प्रतिष्ठानमा लामो समयदेखि जारी आन्दोलनका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वउपकूलपतिहरुले सरकार संवेदनशील नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

आन्दोलनको ५० सौँ दिनमा सरकारसँग भएको ६ बुँदे सम्झौता र छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकार उदासीन भएको भन्दै उनीहरूले विज्ञप्ति मार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

जारी विज्ञप्तिमा अविलम्ब आन्दोलनकारी शिक्षक र विद्यार्थीहरूको माग सम्बोधन गर्न र  प्रतिष्ठानको शैक्षिक एवं सेवा अविलम्ब सुचारु गर्न माग समेत गरिएको छ ।

यसरी विज्ञप्ति जारी गर्नेहरूमा पूर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीन प्रकाश जङ्ग शाह, तोरणबहादुर कार्की, अर्जुन कार्की, कैलाशनाथ प्याकुरेल, हिराबहादुर महर्जन, खगेन्द्र भट्टराई, जयराज अवस्थी र नरेशमान बज्राचार्य रहेका छन् ।

प्रतिष्ठानमा शुद्धिकरणको माग राखी ८५ दिन देखि आन्दोलन जारी रहेको छ । आन्दोलनरत स्वास्थ्यकर्मी , कर्मचारी र विद्यार्थीले यतिबेला आकस्मिक र कोभिड सेवा बाहेक सेवा ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।