धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएकी एक सुत्केरी महिलाको शव लान फार्मेसीले औषधिको पैसा नतिरेको भन्दै रोक लगाएको छ ।

उपचारका क्रममा चार दिन अघि मृत्यु भएकी सर्लाहीको हरिपुर्वा नगरपालिका ८ दशरथपुरका रामचन्द्र माझीकी २८ वर्षीया श्रीमती पुनम माझी प्रतिष्ठान क्षेत्रमा नै रहेको रहेको फार्मेसीका संचालकले औषधीको पैसा नतिरेको भन्दै प्रतिष्ठानको शव गृहका कर्मचारीको सहयोगमा शव लान रोक लगाएका हुन् । माझीको गत शनिवार उपचारका क्रममा मृत्यु भएको थियो ।

सर्लाही नै स्थायी ठेगाना भएका र प्रतिष्ठान क्षेत्रमा फार्मेसी सञ्चालन गरिरहेका अरविन्द्र यादवले औषधिको ३ लाख ५ हजार रुपैयाँ नतिरेको भन्दै शव गृहका कर्मचारीको सहयोगमा शव लान रोक लगाएका हुन् ।

विपन्न परिवारकी माझीको उपचारका क्रममा निधन भएपछि प्रतिष्ठानले बाँकी रकम छुट दिएर शव लान अनुमति दिएपनि औषधीको पैसा नतिरेको भन्दै शव लान रोक लगाइएको माझी परिवारले जानकारी गराएको छ । पैसा अभावले शव लान नसकेको माझी परिवारले फार्मेसीको पैसा तिर्नका लागि चन्दा उठाउन सुरु गरेको छ ।

मृत्यु भएकी माझीलाई ब्यथाले च्यापेपछि तिन साता अघि जनकपुर ९ मा रहेको मधेश हस्पिटलमा भर्ना गरिएको थियो। सो अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया मार्फत मृतक पुनमले दुई बच्चा जन्माएकी थिइन
 
शल्यक्रिया गरेको भोलिपल्टबाट पेट फुल्न थालेपछि मधेश हस्पिटलको दबाबमा उनलाई बीपी प्रतिष्ठान लगिएको थियो । अस्पताल आफैँले एम्बुलेन्स खोजेर खर्च समेत आफैँले गरेर धरान पठाएकाले उपचारका क्रममा त्रुटि भएको आशंका समेत गरिएको छ ।