धरान बेथिति र भ्रष्टाचारका विरुद्ध धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनको विरुद्धमा नेकपा एमाले सहित साना दलले सडक संघर्ष थालेका छन् ।

केही दिन अघि एमालेको धरान नगरकमिटिले विज्ञप्ति नै निकालेर आन्दोलन प्रति असहमति प्रकट गरेको थियो । सोमवार लिम्वुवान सहितका साना दलको व्यानरमा सडक संघर्ष नै सुरु भएको हो ।



प्रतिष्ठानको भ्रष्टाचार र वेथितीलाई मुख्य माग बनाएर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका चिकित्सक , विद्यार्थी र कर्मचारीले प्रतिष्ठानका पदाधिकारीलाई पदमुक्त गर्न सहितका माग राखी यतिबेला सेवा नै बन्द गरेर आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीले प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा समेत तालाबन्दी गरेका थिए ।

आन्दोलनका क्रममा सरकारसँग भएको सहमति र सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले ओपीडी सहितका सेवा ठप्प पारेका छन् ।

प्रतिष्ठानका विषयमा छानविन गन गठित उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समितिले आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालको सेवावाहेकका सेवा ठप्प पारेर आन्दोलन थालेको थियो ।  

प्रतिष्ठानका विषयमा जारी आन्दोलन प्रति असहमति प्रकट गर्दै आएको एमालेले पनि अवरुद्ध सेवा सुचारु गर्नुपर्ने मागसहित साना दलको व्यानरमा सुरु भएको सडक संघर्षमा सहयोग गरेको देखिन्थ्यो ।  

सेवा सुचारु गराउन माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले सोमवार उपकुलपतिको कार्यालयमा दुई महिना अघि लगाइएको ताला पनि फुटाएका छन् ।

दलको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर झडप समेत भएको थियो । झडपका क्रममा प्रदर्शनकारीले प्रतिष्ठानका झ्यालढोकाका सिसा समेत फुटाई दिएका छन् । आन्दोलनरत पक्ष बिच झडपको सम्भावना बढेपछि स्थानीय प्रशासनले प्रतिष्ठानको सुरक्षा व्यवस्था कडा बनाएको छ ।