धरान / बेथिति र भ्रष्टाचार विरुद्ध आन्दोलनरत धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र कर्मचारीले केही समयका लागि स्थगन गरेको  आन्दोलनलाई आज आइतवारबाट फेरि चर्काएका छन् ।

आन्दोलनकारीले सरकारले गरेको सहमति विगतमा जसरी नै पालना नगरेको भन्दै आन्दोलनलाई थप कडा बनाएका हुन् । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र नर्ससहितका स्वास्थ्यकर्मीले आजबाट ओपीडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प बनाएका छन् ।

आन्दोलनकारीले सेवा ठप्प बनाएपछि प्रतिष्ठानमा उपचारका लागि आएका करिव २ हजार सेवाग्राही प्रभावित बनेका छन् । प्रदेश एक र दुईका विभिन्न ठाउँबाट उपचारका लागि आएका सर्वसाधारणको आन्दोलनका कारण बिचल्नी भएको हो ।

सरकारसँग सहमति भएपछि आन्दोलनकारीले केही समयका लागि पदाधिकारीको कार्यकक्षमा लगाएको तालालाई यथावत राखेर आन्दोलनका अन्य कार्यक्रम स्थगन गरेका थिए ।

केही दिन अघि आन्दोलनकारीले माग पुरा गर्न र सहमति कार्यान्वयन गर्न सरकार उदासिन बनेको भन्दै आकस्मिक र कोभिड उपचार सेवा बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका थिए ।

आन्दोलनकारी यति वेला उपकुलपति कार्यालय अगाडिको प्राङ्गणमा भेला भएर नारावाजी गरिरहेका छन् । आन्दोलनको सूचना नपाएकाले सेवा लिन आएकालाई आन्दोलन स्थलमै आज सेवा दिने तयारी भएको सयुक्त संघर्ष समितिले जनाएको छ ।

प्रतिष्ठान भित्रको बेथिती र भ्रष्टाचारमा संलग्नलाई कारवाहीको माग सहित ८३ दिनदेखि प्रतिष्ठानमा आन्दोलन जारी रहेको छ । आन्दोलनकै क्रममा गत साउन १९ गते सरकार र आन्दोलनकारीबिच ६ बुँदे सहमति भएको थियो ।

पदाधिकारीलाई बर्खास्त गर्ने , भ्रष्टाचारका विषयमा छानविन गर्न उच्चस्तरीय आयोग बनाउने , अख्तियारमा परेका मुद्दालाई शिघ्र किनारा लगाउने र पदाधिकारी नियुक्तिमा मापदण्ड लागू गर्ने लगायतका विषयमा सरकार र आन्दोलनकारी बिच सम्झौता भएपछि आन्दोलनकारीले सङ्घर्षको स्वरुप बदलेका थिए ।

सम्झौता भएको एक महिना बितिसक्दा पनि सम्झौता कार्यान्वयन नभएपछि आन्दोलनकारीले फेरि आजबाट आन्दोलन चर्काएका हुन् ।

सरकारले पदाधिकारीलाई राजिनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको भएपनि रजिष्टार डा. मोहनचन्द्र रेग्मी बाहेकले भने राजिनामा दिएका छैनन् । बर्खास्तीका लागि प्रतिष्ठान सञ्चालन ऐन अनुसार सिनेटका सदस्यले निवेदन दिएमात्रै बर्खास्त गर्न सकिने व्यवस्था रहेको छ । बर्खास्तीमा ढिलासुस्ती भएपछि आन्दोलनकारीले आन्दोलन चर्काएको संघर्ष समितिका एक सदस्यले जानकारी गराएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र रजिष्टार डा. मोहनचन्द्र रेग्मी पक्षधर समूहबिना लेनदेन र खरिद सम्बन्धी अधिकार बाँडफाँडमा कुरा नमिलेपछि प्रतिष्ठान भित्र आन्दोलनको आगो सल्केको थियो । उनीहरु बिच विवाद चलिरहेका वेला बेथिति र भ्रष्टाचारको विषयमा सामाजिक संजाल मार्फत अख्तियार गुहारेका चिकित्सक डा. विष्णु पोख्रेलमाथि उपकुलपति गिरीले कारवाही थालेपछि आन्दोलनले उग्ररुप लिएको हो ।

उपकुलपति गिरी र रजिष्टार रेग्मीको एक अर्कालाई सिध्याउने मनसाय सहितको खेलले आन्दोलनको विजारोपण गरेपछि सुरु भएको आन्दोलनमा संलग्न आन्दोलनकारीले आन्दोलनलाई प्रतिष्ठान शुद्धिकरणको बाटोमा लगेका थिए । जारी आन्दोलन उत्कर्षमा पुगेपछि प्रतिष्ठान शुद्धिकरणको अपेक्षा राखिएको थियो ।

विगतमा जसरी नै सरकारले सम्झौता गर्ने र माग पुरा नगर्ने चरित्र यो पटकको सरकारले पनि देखाएपछि फेरि आइतवारबाट प्रष्ठिानमा जारी आन्दोलन चर्केको छ ।