बिर्तामोड / संविधानले नै नागरिकको स्वास्थ्य उपचारको हकको ग्यारेण्टी गरेको छ । संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था रहेको छ । संविधानमा नै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने  र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था गरिएको छ ।

प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक रहने पनि संविधानमा व्यवस्था गरिएको छ । तर उपचार खर्च तिर्न नसक्नेलाई देशभरका निजी अस्पतालले बन्धक बनाएको समाचार लगातार रुपमा सार्वजनिक हुन थालेका छन् ।

उपचारका लागि अस्पताल पुगेका र उपचार खर्च तिर्न नसकेका नागरिकलाई निजी अस्पतालले बन्धक बनाएर पैसा असुल्ने गरेका छन् ।

झापाको बिर्तामोडमा रहेको विएन्डसी अस्पतालले पनि त्यसरी नै उपचार खर्च व्यहोर्न नसकेको भन्दै एक दम्पतीलाई चार महिना देखि बन्धक बनाएको सार्वजनिक भएको छ । सयौँलाई रोजगारी दिएको र सामाजिक काममा लाखौं रुपैयाँ खर्च गरेको बताउँदै आएका स्वास्थ्य उध्यमि दुर्गा प्रसाईको अस्पतालले पैसा नतिरेको भन्दै निम्न वर्गीय परिवारका श्रीमान–श्रीमतीलाई नै चार महिना देखि बन्धक बनाएको घटना सार्वजनिक भएको हो ।

पूर्वकै प्रतिष्ठित उद्योगी नवीन रिजालको उद्योगको सवारीसाधनको ठक्करबाट घाईते भएका झापाको शिवसताक्षी २ का ३९ वर्षीय यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनम श्रेष्ठलाई प्रसाईँको अस्पतालले पैसा नतिरेको भन्दै बन्धक बन्धक बनाएको हो ।

आफ्नो अभिव्यक्तिका कारण सधैँ विवाद र आलोचनामा पर्दै आएका उद्यमी प्रसाईँको अस्पतालले उपचार खर्च तिर्न नसकेको विपन्न परिवारका श्रीमान श्रीमती दुवैलाई चार महिनादेखि बन्धक बनाएको छ ।

गत फाल्गुण १९ गते पूर्व पश्चिम राजमार्गको कन्काईमा रिजाल ग्यास उद्योगको को १ ख १६८४ नम्बरको ट्रकले  प्रदेश १–०१–००१ च ०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कारमा सवार दुई जनाको ज्यान गएको थियो भने मोटरसाइकलमा सवार श्रेष्ठ दम्पती घाइते भएका थिए । सोहि दिन घाइते उनीहरूलाई उपचारका लागि बिएन्डसी अस्पताल लगिएको थियो । घाईते यामबहादुरको दायाँ खुट्टा काटेर फाकिएको छ भने उनकी श्रीमती सनमको दायाँ खुट्टामा स्टिल लगाइएको भएपनि खुट्टा राम्ररी अझै चल्न सक्दैन ।

अस्पतालले उपचार सकिएको भन्दै ४२ लाख भुक्तानी गरेर जान गत बैशाख अन्तिम साता नै भनेको थियो । तर, भुक्तान गर्न नसकेपछि उनीहरू अस्पतालमा नै बन्धक बनेका थिए ।

आर्थिक अवस्था कमजोर भएकाले श्रेष्ठ परिवारले १२ लाख मात्रै बुझाएको थियो । अस्पतालले भने दुर्घटनामा संलग्न सवारी साधनका धनी या उपचारमा रहेकाले बाँकी रहेको ३० लाख नतिरेको भन्दै उनीहरूलाई बन्धक बनाएको हो ।

अस्पतालले भने उपचार जारी रहेको दावी गरेको छ । खर्च अभावमा अस्पतालमा आउने कसैको पनि उपचार नरोकेको बताउँदै अस्पतालले दुर्घटनामा संलग्न सवारी धनीलाई उपचार खर्च तिराउन सरकारसँग माग गरेको छ । घाईतेलाई अस्पतालमा छाडेर वेवारीसे बनाउने माथि कानुन बमोजिम कारवाही गर्न अस्पतालले माग गरेको छ ।