बिर्तामोड / जिल्ला कोभिड खोप व्यवस्थापन समिति झापाले खोप दुरुपयोगमा संलग्न रहेको अभियोग लागेका बिर्तामोड नगरपालिकाका स्वास्थ्य अधिकारी ओम खड्कालाई निलम्बन गरेको छ ।

शनिवार बसेको समितिको आकस्मिक बैठकले आरोपित पदमा नै रहँदै छानविनमा कठिनाइ हुने कारण देखाउँदै छानविन पुरा नहुन्जेल सम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।


शनिवार समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षतामा बसेको वैठकले आरोपित खड्कालाई छानविन अवधिभरका लागि निलम्बन गर्न जिल्ला स्वास्थ्यलाई निर्देशन दिएको हो ।

खोप दुरुपयोगका विषयमा राजनीतिक दल , सामाजिक संघरसंस्था र नागरिक स्तरबाट खड्कामाथि कारवाहीका लागि दवाव परेपछि समितिको बैठकले सहायका प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिजालको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गर्दै निलम्बन गर्ने निर्णय गरेको हो ।


छानविन समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा , जिल्ला समन्वय समितिका लाल बहादुर श्रेष्ठ , शसस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक प्रेम प्रसाईं र राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।

जिल्ला भरी जारी खोप कार्यक्रम विवादित बनेको ठहर गर्दै समितिले झापामा हालसम्म कति जना र कसकसलाई खोप लगाइयो भन्ने विवरण समेत सार्वजनिक गर्न जिल्ला स्वास्थ्य कार्यालय झापालाई निर्देशन दिएको छ ।


जिल्लामा जारी खोप कार्यक्रममा व्यापक अनियमितता भएको र सरकारी मापदण्ड विपरीत आफू निकटस्तलाई खोप दिइएको विषय नागरिक स्तरबाट उठेपछि आज बसेको खोप व्यवस्थापन समितिको बैठकले त्यस्तो निर्देशन दिएको हो ।

त्यसैगरी समितिको बैठकले जिल्लाभरका पेट्रोल पम्पमा कार्यरत ३०० जना श्रमिकलाई नेपाल आयल निगमको चारआली डिपोमा अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको सिंगल डोज खोप दिने पनि निर्णय गरेको छ ।