काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई निर्वाचन क्षेत्र वा जिल्ला भ्रमण गर्दा अनिवार्य रूपमा पार्टीसँग समन्वय गरेर मात्रै कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ। भ्रमणलाई व्यक्तिगत भेटघाटमा सीमित नराखी संगठन विस्तार, जनमत संकलन र संसदीय एजेन्डासँग जोड्न पार्टीले स्पष्ट सर्कुलर जारी गरेको हो।

महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी निर्देशनमा कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमणअघि सम्बन्धित पार्टी संरचनालाई जानकारी गराउन, अन्य क्षेत्रको भ्रमणमा सम्बन्धित सांसदसँग समन्वय गर्न र स्थानीय समितिसँग छलफल गरेर प्राथमिक मुद्दा पहिचान गर्न भनिएको छ। रास्वपाले कार्यक्रम सञ्चालन गर्दा स्थानीय पार्टी संरचनाको नेतृत्व सुनिश्चित गर्न, तडकभडक र अनावश्यक खर्च नगर्न तथा मितव्ययी र सुशासनमुखी अभ्यास अपनाउन पनि सांसदहरूलाई सचेत गराएको छ।

यस्तै, निर्वाचन क्षेत्रमा प्राप्त जनगुनासा, सुझाव र स्थानीय समितिका प्रतिवेदनलाई लिपिबद्ध गरी संसदीय दलमा अनिवार्य रूपमा पेश गर्न निर्देशन दिइएको छ, ताकि स्थानीय आवाजलाई संसद्को एजेन्डामा रूपान्तरण गर्न सकियोस्। पार्टीका अनुसार सांसदको प्रभावकारी भूमिका र संगठनको सक्रियता एकअर्काका पूरक भएकाले नागरिक–केन्द्रित राजनीति संस्थागत गर्न यो व्यवस्था लागू गरिएको हो।