काठमाडौं। प्रदेश सरकार गठनलाई लिएर चलिरहेको राजनीतिक रस्साकस्सीबीच नेपाली कांग्रेसले स्पष्ट सन्देश दिएको छ— कांग्रेस, एमाले र नेकपा मिलेर प्रतिपक्षविहीन सरकार स्वीकार्य छैन।
कांग्रेस सभापति गगन थापाले तीन प्रमुख दल एउटै सरकारमा बस्दा प्रदेश सभामा प्रतिपक्ष नै समाप्त हुने र त्यसले लोकतान्त्रिक प्रणाली कमजोर बनाउने बताएका छन्। उनले आवश्यक परे कांग्रेस सरकारभन्दा बाहिर बसेर प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि तयार रहेको संकेत दिएका छन्।
उपसभापति विश्वप्रकाश शर्माले पनि कांग्रेसको ‘बटमलाइन’ प्रतिपक्ष जोगाउनु रहेको दोहोर्याउँदै सबै दल सरकारमा बस्ने अभ्यास जनमत र संसदीय मूल्य–मान्यताविपरीत हुने बताए।
यद्यपि, कांग्रेसले यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन। आवश्यक परे पार्टी बैठकबाट संस्थागत निर्णय लिइने नेताहरूको भनाइ छ। कांग्रेसको यो अडानसँगै प्रदेशमा कांग्रेस–एमाले–नेकपा मिलेर सहमतिको सरकार बनाउने सम्भावनामा नयाँ प्रश्नचिन्ह खडा भएको छ।





































